काठमाडौ । नेकपा एमालेको स्कुल विभागद्वारा आयोजित दुई दिने विशेष अनुशिक्षण कार्यक्रम आज पनि जारी छ ।
बुधवारदेखि पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको अनुशिक्षण कार्यक्रममा फरक पार्टीबाट नेकपा एमाले प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई नेकपा एमालेको रुलिङका बारेमा जानकारी गराइएको छ ।
बुधवार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसकेका छन् ।
विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफू सरकारमा सहभागी भए भईगो नि भन्ने एउटा मात्रै सुत्र लिएर हिँडने गर्ने समेत बताएका थिए । काँग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको उनले तर्क गरे । अध्यक्ष ओलीले भने, ‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली काँग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भई गो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली काँग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो । यदि देशमा सरकार काँग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भएपनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिसप्त एउटा जमात हुन्छ ।’
आज पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।