काठमाडौं । नयाँबानेश्वर संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंगित बनेको छ ।
उनको आज विहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझनै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्।
यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।
आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् ।
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।
यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि आचार्यको आत्महत्या निकै मार्मिक भएको उल्लेख गर्दै लेखेका छन्, ‘यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ।सबैले बेलैमा गम्भीरतापूर्वक लिऊॅ र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ।आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं !’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आचार्यको आत्महत्याले आफूहरुलाई कठघरामा उभ्याएको बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन !
नीति: बदलिएर पुगेन, थिती: बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ ‘उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ ‘केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ‘
जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् ।
तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् ।
यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।
नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन्।
यस्तै यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्ने बताए।
‘आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्छ। प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार, दल र समाजले यथोचित ध्यान दिनुपर्छ, सम्बोधन गर्नुपर्छ’, उनले भनेका छन्,‘शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।’
यसरी नै गायक राजेशपायल राईले प्रेम आचार्यले किन मृत्यु रोजे भन्दै लाखौ प्रेमहरूको सपना नतुहाउन सरकारलाई आग्रहसमेत गरेका छन्।
‘देशमा लाखौं प्रेम आचार्यहरू छन् तर दुर्भाग्य एक प्रेमले आत्मदाह गरे यो नराम्रो भयो उहाँको आत्माले शान्ति पाओस् घर, आफन्तजनलाई सहनसक्ने शक्ति देउ सुम्निमा पारूहाङ’, उनले भने, ‘अब रह्यो उनीले किन मृत्यु रोजे यी लाखौं प्रेमहरूको सपना नतुहाउ सरकार बाँकी उनलाई न्याय मिलोस्।’
यस्तै, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु अगाडि लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताएका छन्। उनले यो गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताएका छन्।
‘प्रेम प्रसाद आचार्यले आत्मादाह गर्नुभन्दा अगाडि लेखेको स्ट्याटसले यो राज्य ब्यवस्था नाङ्गो भएको छ। यो गरिखान्छु भन्ने तमाम नेपालीहरूको पीडा हो यो विषयलाई संसदीय समिति गठनगरि सूक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान गरियोस्’, उनले लेखेका छन् ।