काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–९ तारतालबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय २० ग्रामसहित सोही उपमहानगरपालिका–१० बस्ने २५ वर्षीय गौरब श्रेष्ठ समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बलको बिओपी बाङग्रा कटानबाट खटिएको संयुक्त टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ गणेशमान चोक डेरा गरी बस्ने धनकुट्टा चौविसे गाउँपालिका–७ घर भएका २४ वर्षीय मोतिराम लिम्बुलाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका–६ सुत्केरीढुङगाबाट अवैध लागूऔषध चरेश करिब ३४ केजी ५ सय ग्रामसहित गजुरी गाउँपालिका–८ किरानचोक बस्ने ३२ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।