शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु 

मंगलबार, माघ १० २०७९

काठमाडौं –  सिरहा, कर्जन्हा नगरपालिका–६ स्थित सडकमा स.१ त ४६६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ४ फिट तल खेतमा पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक मिर्चैया नगरपालिका–१ बस्ने २० वर्षीय केश कापरको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । 

सुनसरीको दुहबी नगरपालिका–८ सोनापुर चोकमा को.२१ प ५६२६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बेहेमिया ऋषिदेवको सोमबार साँझ मृत्यु भएको छ । गत पुस १८ गते स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचार गराईरहेकोमा उपचार हुन नसकी  घर ल्याएकोमा उनको हिजो साँझ मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ईलामको माङसेबुङ गाउँपालिका–३ मार्चेबुङमा को.२ च ३५१ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा पिकअपमा सवार कुच्चो लोड गर्न सहयोग गर्ने सोही गाउँपालिका–३ सिबुवा सिम्ले बस्ने ३० वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।