खलंगा। जुम्ला लगायत माथिल्लो कर्णालीमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
मंगलबार विहान ५ बजेबाट हिमपात भएपछि लामोसमय सुख्खा रहेको खेतको हिउँदे बालीनालीलाई निकै राहत मिलेको यहाँका स्थानीयले बताएका छन् ।
दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णाली लगायत पश्चिम नेपालमा वर्षात भएको छ । हिउँ पर्न थालेपछिको जुम्लाको जनजीवन कष्टकर बनेको छ । यहाँका उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ ।
यहाँको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । यस्तै,जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमा समेत हिउँपात भएको छ । हिउँ परेपछि सदरमुकाम खलंगा बजार बन्द भएको छ ।
यसरी नै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।



