काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्मको सरकारको नेतृत्व विहीन छ । नेतृत्वको सत्ता लिप्साका कारण तत्कालिन गठबन्धन टुटेपछि कांग्रेसको सत्ता मात्र गुमेन केन्द्रदेखि प्रदेशसम्म ऊ रित्तिएको हो ।
प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा पराजय भोगेको कांग्रेसले यसैबीच राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरूलाई निर्देशन समेत दिए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा सत्तारूढ दल माओवादी केन्द्रबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरेको छ । कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । सरकार गठनका सन्दर्भमा छलफल हुँदा राष्ट्रपति र सभामुख पद आफूहरूले पाउने सहमति भएको एमाले नेताहरूको दाबी छ । कांग्रेसले सत्तारूढ नेकपा माओवादी केन्द्रको साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको जानकारी दिँदै कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको तागत लगाउने, एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड यति नै हो ।’
कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् । उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवारबारे भने छलफल गरिसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार हुने चर्चामा छन् । सोमबारको बैठकमा देउवाले उनीहरुको नाम लिएको चर्चा छ । गत महाधिवेशनमा आफूलाई सघाएका यी दुई पात्र मध्ये एकलाई देउवाले राष्ट्रपतिको उम्मेदवार बनाउने निश्चित छ । देउवा संसदीय दलका नेतामा आफूलाई प्रस्ताव गर्ने पौडेललाई नै अघि सार्ने मनसायमा देखिन्छन् ।
राष्ट्रिय राजनीतिमा कुनै स्वार्थ केन्द्रीत फेरबदल नआए सत्ता गठबन्धनबाटै राष्ट्रपति निर्वाचित हुने देखिन्छ । यसरी पराजित हुने ग्यारेन्टी रहँदा रहँदै कांग्रेसका वयोवृद्ध नेता पौडेल राष्ट्रपतिको निर्वाचनमा भाग लिएर फेरि एक पटक बलीको बोको हुने तरखरमा छन् । १७ पटक सम्म प्रधानमन्त्रीको निर्वाचनमा पराजित बनेका उनै पौडेल फेरि एक पटक राष्ट्रपतिमा पराजित भएर अर्को किर्तिमानी राख्ने आँकलन हुन थालेको छ ।
राजनीतिक परिवर्तनमा ठूलो भूमिका निभाएका उनी अहिलेसम्म देशको र पार्टीको प्रमुख पदमा पुग्न सकेका छैनन् । राजनीतिक दाउपेचमा कमजोर मानिने पौडेललाई फेरि एक पटक बलिको बोको बनाइन लागेको चर्चा हुन थालेको छ ।
पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा १७ पटकसम्म पराजित भएर अहिलेसम्म कसैले तोड्न नसक्ने रेकर्ड बनाएका छन् ।
०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भएकाे थियाे ।
आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । अर्को चरणमा झलनाथले बाजी मार्दा रामचन्द्रको प्रतिस्पर्धा भने खेर गएको थियो ।
विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका हुन् । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफु राजनीतिमा होमिएको बताउँदै आएका पौडेल आखिर नजितिने लडाइँमा होमिएलान् ?
मंसिर ४ गतेको निर्वाचनपछि संसद्को सबैभन्दा ठूलो दल बनेर पनि सत्ताबाहिर पुगेको कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो । कांग्रेसले उम्मेदवारी दिए पनि सभामुख र उपसभामुखमा सत्ता साझेदार दलका उम्मेदवार विजयी भए ।
सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भइसकेका छन् । सरसर्ती हालको चुनावी परिणामको मतभारलाई हेर्दा र राजनीतिक विश्लेषको भनाइलाई आधार मान्ने हो भने भावी राष्ट्रपति पनि गठबन्धन दलको हुने निश्चित छ ।