काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको फुर्को हटाउन आफू तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि शनिबार सञ्चारकर्मीसँग उनले गठबन्धनबाट उपप्रधानमन्त्री पदले सरकारमाथि कुनै भार नथपिने भएकाले राखेको भने पनि आफूले भने गठबन्धनमा सहमति भए उपप्रधानमन्त्रीको फुर्को हटाउन तयार रहेको दावी गरे ।
उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नै हटाए पनि तयार रहेको समेत बताए।
गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्नेभन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाटै हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’
गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निस्कने गरी गर्ने पनि बताए। उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने दावी गर्न पनि बाँकी राखेनन्।
उनले भने, ‘हामी नतिजा निकाल्ने गरी काम गर्छौं। प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन‚ विज्ञप्ति जानकारीका लागि गरिएको हो। के भइरहेको छ भन्ने जानकारी दिनुपर्ने भएकाले हो।’
मधेश आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्। उनलाई पक्रन नसकेको भन्दै कांग्रेसले संसदमा आवाज उठाउँदै आएको छ ।