काठमाडौं । सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसका उम्मेदवार सभामुख र उपसभामुख दुबै पदमा पराजित बनेका छन् ।
नेतृत्वको कमजोरीका कारण यति बेला कांग्रेस संसदमा सबैभन्दा ठूलो दल भएपनि सत्ता बागडोरमा पछि परेको छ ।
राष्ट्रिय राजनीतिमा १० पुसमा एकाएक आएको परिवर्तनले कांग्रेसलाई सत्ता विहीन बनाउँदा केन्द्रदेखि प्रदेशसम्म उसको उपस्थिति शून्य भएको छ ।
शनिबार भएको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भइन् । माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् ।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
तत्कालीन गठबन्धन टुटाएर प्रधानमन्त्री बने प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने उम्मेदवार उठाएको थियो । तर, उसका दुवै उम्मेदवार सत्ता गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगे ।
यसैबीच राष्ट्रपति पदमा भने कांग्रेसले आफ्नो दावी कायमै राखेको छ । सत्तारुढ माओवादीको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आसमा काँग्रेस रहेको बताइएको छ ।
कांग्रेस भरसक सहमतिमा नभए वर्तमान सत्ता गठबन्धन भत्काएर भएपनि भावी राष्ट्रपति आफ्नो पोल्टामा पार्न चाहन्छ । नेता चन्द्र भण्डारीको भनाइलाई आधार मान्ने हो भने राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धन भत्काउने कोशिसमा कांग्रेस छ ।
भए राष्ट्रिय सहमति नभए पनि माओवादी केन्द्रको साथमा राष्ट्रपति आफुले पाउनु पर्ने जिकिर गर्दै आएको कांग्रेसले सभामुख, उपसभामुखको निर्वाचनमा भने पराजय भोग्नु पर्यो ।
यता सभामुख उपसभामुखमा हार बेहोरेको कांग्रेसलाई विश्वासको मत दिएको प्रचण्डबाट अझै आस भने बाँकी नै छ । शनिबार संसद बैठकबाट बाहिरिने क्रममा कांग्रेसका प्रवक्ता समेत रहेका नेता प्रकाश शरण महतले राखेको भनाइबाट त्यो प्रष्ट हुन्छ । उनले राष्ट्रपति,उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए । महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको तर, भावी राष्ट्रपतिको चयनमा पास हुनसक्ने भन्दै आशा व्यक्त गरे ।
प्रचण्डलाई विश्वासको मत दिएर गुण लगाएको कांग्रेसले राष्ट्रपतिको आस गरिरहँदा यता माओवादी केन्द्रका नेताहरु भने भावी राष्ट्रपतिको उम्मेदवार पनि सत्ता गठबन्धनबाट नै हुने बताउँदै आएका छन् । शनिबार संसद बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग माओवादी नेता एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले भने, ‘राष्ट्रपति पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतः स्फुर्तः छ । काँग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन । सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो । भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ ।’
शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको बताउँदै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने समेत बताए ।
स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारदेखि विभिन्न राजनैतिक नियुक्ति र संवैधानिक परिषदमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरु एकाएक पदबाट मुक्त हुन परेपछि आक्रोशित बनेका छन् ।
शेरबहादुर देउवाको स्वार्थ र आफूनै प्रधानमन्त्री बन्ने महत्वकांक्षाका कारण कांग्रेस यो अवस्थामा पुग्नु परेको कांग्रेसजनले बताउँदै आएका छन् । प्रचण्डलाई विश्वासको मत दिएर फकाउने तर एमालेलाई एक्ल्याउने अभिप्रायस्वरुप प्रदेशसभामा एमालेले उम्मेदवार उठाएको ठाउँमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएर एमालेसँग बदला लिइरहेको देखियो । प्राय: माओवादीका उम्मेदवार भएका ठाउँमा कांग्रेसले उम्मेदवार नउठाएर वा भाेट दिएर प्रचण्डलाई फकाउने दाउमा कांग्रेस छ ।
केन्द्रमा प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले त्यस पछिका सभामुख उपसभामुख पदमा उम्मेदवार उठायो । कांग्रेसले प्रचण्डलाई संसदमा मत दिनु भनेको एमालेको विकल्पमा आफूहरु रहेको विश्वास दिलाउन खोज्नु हो । यसले एमालेलाई कमजोर बनाउने उसको रणनीति मात्र नभएर राष्ट्रपति लगायतमा आफ्नो हिस्सा खोज्ने उसको अभिप्राय हो । तर, सरकार बन्नुभन्दा अगाडि बनेको माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको पार्टीका उच्चस्तरीय नेताहरुबीच भएको सम्झौताबाट पछाडि हटेर कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्डलाई समस्या हुने विश्लेषकहरुको भनाइ छ ।
विश्वासको साख गिर्दै गएका प्रचण्डले यदी अब फेरि त्यो गल्ती गरे भावी चुनावमा उनको दल अहिलेको हैसियतमा समेत नरहनसक्ने उनीहरुको भनाइ छ ।