बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवा सरकार छिमेक सम्बन्धमा असन्तुलित मात्र होइन बेढंगी तालमा चल्यो  : अध्यक्ष ओली

शनिबार, माघ ७ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको सरकारले छिमेकी देशहरूसँगको सम्बन्ध तरंगित र असन्तुलित बनाएको आरोप लगाएका छन्।

एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चलेको आरोप लगाए । ‘विगत सरकारका समयमा हामीले देख्यौँ अनावश्यक ढंगले हाम्रो छिमेक सम्बन्ध तरंगित, असन्तुलित र बहुत बेढंगी तालले चल्यो । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो’, उनले भने।

अध्यक्ष ओलीले दुई छिमेकी देशसँग आफूहरूले कुनैप्रति पनि ‘कार्ड’ नखेल्नेसमेत बताए । उनले छिमेकीहरूका निम्ति असल छिमेकी बन्न चाहेको र उनीहरूको कुभलो नगर्नेसमेत बताएका थिए । ‘हामी एउटा कार्ड एउटातिर अर्कोको कार्ड अर्कोतिर होइन । हामीले सन्तुलित, विश्वसनीय होइन । भित्रभित्र एउटा कुरा बाहिर, बाहिर अर्को कुरा होइन । मुखले एउटा व्यवहारमा अर्को गर्ने अभ्यास, त्यस प्रकारको होइन, भरपर्दो, विश्वसनीय, जो भनिन्छ त्यो गर्ने होइन । एउटा हित र अर्काको अहित गर्ने होइन, छिमेकमा बसेर अर्काको अहित गर्ने भन्ने विषय सामान्य गाउँघरमा पनि असल छिमेकी मानिँदैन,’ ओलीले भने, ‘हामी छिमेकीहरूका लागि असल छिमेकी हुन चाहन्छौँ उनीहरूको कुभलो गर्दैनौँ, बिल्कुलै कुभलो नगरीकन उनीहरूको भलो चिताएर उनीलाई सहयोग पु¥याएर, उनीहरूको जायज चासो चिन्ता सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हामी अघि जान्छौँ ।’

उनले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रूपमा कतै संलग्न नहुने उल्लेख गरे । ‘हामी कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरू वा अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौँ । कसैको पनि राख्यो भने हाम्रो लागि अहितकर हुन्छ हाम्रो सार्वभौमसत्ता माथिको अतिक्रमण हुन्छ । कुनै पनि हाम्रो सार्वभौमसत्ता, स्वाधीनतामा कुनै प्रकारको सम्झौता गर्दैनौँ र पारस्परिक लाभ र सम्मानको आधारमा सम्बन्ध राख्छौँ,’ ओलीले भने ।

उनले नेपालले विकासशील देशमा नेपाल स्तरोन्नति गर्ने निर्णय भए पनि पछिल्लो समयमा अर्थतन्त्रमा समस्या देखिएको बताए । ‘हामी विकासशील स्तरोन्नति गर्ने निर्णय थियो । यो डेढ वर्षमा अर्थतन्त्र जसरी ओरालो लाग्यो, सूचकहरू डर लाग्यो जस्तो गरी ओरालो लागे, जस्तो कृत्रिम ढंगले महँगी वृद्धि भयो, युक्रेन युद्धको मात्रै कुरा होइन । युक्रेन युद्धलाई देखाएर आफ्नो अक्षमता र बदमासीलाई छोप्ने काम भयो । युक्रेन युद्ध हुँदैमा हाम्रो अर्थतन्त्र यति झर्नुपर्ने अवस्था हुँदैन,’ उनले भने, ‘हाम्रो युद्धसँग जोडिएको होइन । पेट्रोलियम पदार्थको भाउ बढ्यो होला त्यसलाई कसरी समाधान गर्ने भनेर अन्तरिक रूपमा केही गर्नुपर्ने थियो होला त्यतातर्फ ध्यान दिइएन ।’