काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
यता सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुखको उम्मेदवार बनाएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको तर सत्ता बाहिर रहेको कांग्रेसको आज बिहान बसेको पार्टी पदाधिकारीको बैठकले उम्मेदवार दिने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारीहरुको बैठक बसेको थियो । उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। जसअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ।
मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ।
मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।
सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधिसभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।