बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काँग्रेसको पदाधिकारी बैठक शुरु, सभामुख बारे निर्णय गर्ने

बुधबार, माघ ४ २०७९

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ ।  

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु भएको हो । आजको बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ ।

संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा काँग्रेस पदाधिकारी बैठक बसेको हो ।

काँग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ ।

कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।

पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ । 

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। जसअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ।

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ।

मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधिसभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ। उक्त समय घर्निन लागेपछि प्रतिनिधिसभामा सभामुख चयन गर्ने तयारी गरिएको हो।