बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चालक दलका सदस्य, विदेशीसहित केहीको शव काठमाडौँ ल्याइने

सोमबार, माघ २ २०७९

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी  निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । 

दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जाँदैछ । 
 

यसैबीच दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

 माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर-७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । 
 
 दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।