शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माघ ३ गते सर्वदलीय बैठक बस्ने, मन्त्रिपरिषद् विस्तारमा ढिलाई

आइतबार, माघ १ २०७९

काठमाडौं ।  आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार विभिन्न सञ्चारमाध्यमहरूका सम्पादकहरूसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिए। साथै उनले सत्तारुढ दलहरुबीच सभामुख राष्ट्रपति बारे कुनै लिखित सहमति नगरिएकाे बताएका छन् ।

एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री भएका प्रचण्ड पछिल्लो समय कांग्रेसप्रति नरम देखिन थालेका छन् । उनलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि यी विषयमा कांग्रेससँग पनि सहमति खोज्ने उनले प्रष्ट पारेका छन् ।

यसले गठबन्धन राजनीतिमा थप संशय उत्पन्न भएको छ ।
कांग्रेसको अप्रत्यासित विश्वास र प्रचण्डको नरम व्यवहारले गठबन्धनमा आबद्धहरूलाई शंकाको सुविधा मिलेको छ ।यसले राष्ट्रपति निर्वाचनसम्म प्रधानमन्त्री प्रचण्डले दोहोरो भूमिका चाल्न सक्ने अनुमान हुन थालेको छ । 
कांग्रेसले बिनासर्त प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि एमाले भने सशंकित छ ।

सभामुख चयनअघि आइतबार सर्वदलीय बैठकको आहृवान गर्ने प्रचण्डले जानकारी दिए । आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ । सत्तारूढ दलहरूबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तारमा समस्या छैन


प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिनमै हुने बताएका छन्। मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू सहमतिनजिक रहेको सुनाए ।

‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुंग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ,’ उनले भने । संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागबण्डा सहमतिनजिक रहेको उनको भनाइ छ ।

आइतबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने र सोमबार मन्त्रिपरिषद्को पूर्ण बैठक बस्ने उनले बताए।