बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजनारायण र लम्बोदरलाई तीन वर्ष कैद फैसला

शुक्रबार, पुष २९ २०७९

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व–आयुक्त राजनारायण पाठक र नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदको फैसला गरेको छ ।

अदालतले नेपाल इञ्जिनियरिङ कलेज ‘नेक’को निजीकरण गरी भ्रष्टाचार लेनदेन गर्ने दुवै पक्षलाई दोषी ठहर गरी कैद सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष कैद र ३९ लाख जरिवानाको सजाय सुनाएको छ । उनलाई घुस खुवाउने लम्बोदर न्यौपानेलाई पनि उति नै अर्थात् तीन वर्ष कैदसहित ३९ लाख जरिवाना भराउने फैसला भएको छ ।

उनीहरूलाई भ्रष्टाचार गरेको नभएर भ्रष्टाचार उद्योगमा दोषी ठहर गरिएको विशेष अदालत स्रोतले जनाएको छ । पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेकोमा थप तीन महिना सजाय सुनाइएको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार फैसला गरेको हो ।

तत्कालीन आयुक्त पाठकले बोलेअनुरूप काम नगरेको भन्दै घुस डिल गरेको भिडियो सार्वजनिक भएपछि तत्कालीन आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले २०७५ चैत १२ मा मुद्दा दायर गरेको थियो ।

न्यौपानेसहितले पब्लिक कलेजको स्वामित्व निजी बनाउने प्रयासस्वरूप पाठकलाई घुसको प्रस्ताव गरेका थिए । पाठकले स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको अभियोग छ ।