बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सातै प्रदेशमा नयाँ मुख्यमन्त्री  : केहीमा आधा, केहीमा पूरै कार्यकाल

बिहिबार, पुष २८ २०७९

काठमाडौं । सातवटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएसँगै सातवटै प्रदेशमा नयाँ सरकार गठन भएको हो ।

सत्ता गठबन्धनको भागबण्डाअनुसार चारवटा प्रदेशमा एमाले, दुईवटामा माओवादी र एउटा प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

माओवादी र एमालेसहितको सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की यसअघि नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।  बागमती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले पाएका छन् । यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारी भएका छन् । यहाँ एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने भनिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका छन् । मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुखसमेत हुन् ।

यसैगरी, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका तीन र स्वतन्त्र दुई सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीनरतीन, सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् । बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे शपथको कार्यक्रम छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेशसभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएकजना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुईरदुई वर्ष गर्ने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले बुधबार रावललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सत्तारूढ गठबन्धनबाट २९ सांसदको समर्थनसहित रावल मुख्यमन्त्री बनेका हुन्। रावललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेका छन् । रावल नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्जसमेत हुन् । उनी समानुपातिकबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।