काठमाडौं । आज ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा पछिल्लो समय कटौती गरिएकामा पुनः यो वर्षदेखि बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । विगतका वर्षमा पृथ्वीजयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ ।
पृथ्वीनारायण शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरूको भनाइ रहँदै आएको थियो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि माग गर्दै आएको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने अडान राख्दै सरकारमा सामेल हुन यसलाई अनिवार्य शर्त बनाएको थियो ।
दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा विसं २०६२र६३ को राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको थियो । आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेको थियो ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उनको वि.सं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।
पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा भएका थिए । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए तर त्यो पूर्ण हुन सकेन जे होस् नेपाल एकीकरण महान् अभियान उनले सुरुवात गरेका थिए । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।