काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन ।
आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तराष्ट्रिय उडान गर्न प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनी काठमाडौं आएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेतासँग भेट गर्न उनी काठमाडौं आएका हुन् ।
त्यसअघि पोखराको १२औं नगरसभालाई सम्बोधन गर्दै अधिकारीले अन्तराष्ट्रिय उडानका लागि प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका थिए । ‘अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौं । कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ’, उनले भनेका थिए, ‘बडो उल्लासका साथ विमानस्थलको उद्घाटन गर्यौं । अब नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।’
पर्यटन, जलश्रोत र शिक्षालाई विकास गर्न प्रदेशले सुझाव चाहेको अधिकारीले बताए । संघ सरकारले तल्ला सरकारलाई अधिकार दिने कुरामा आनाकानी गरिरहेको उनको तर्क छ । ‘प्रदेश त माइलो छोरो भयो । कान्छो छोरो स्थानीय तह, जेठो छोरो माथि छँदै छ । पितृ उद्धार कार्य गर्दा माइलो छोरोलाई खासै ठूलो भार पारिँदैन,’ उनले भने, ‘त्यही मनोविज्ञान पनि हुन सक्छ । केन्द्रमा रहँदा केन्द्रकै कुरा ठूलो हुन्छ । अधिकार तल जाने कुरामा खासै उदार छैन ।’
उनले केही कानून केन्द्रले नबनाएका कारण प्रदेश सन्चालनमा समस्या भएको बताएका छन् । निजामति कर्मचारी ऐन नबनेका कारण प्रदेशमा कर्मचारी समायोजन हुन नसकेको उनले बताए ।
अधिकारीले स्थानीय तहसँग सम्बन्धित कानून निर्माणका लागि प्रदेश सरकार तत्पर रहेको र अनिवार्य ऐन निर्माणका लागि सुझाव मागेका छन् । शिक्षा र स्वास्थ्यको धेरै दायित्व स्थानीय तहसँग भएकोले जिम्मेवार भएर काम गर्न सरकारलाई आग्रह गरे ।
यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।