शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गर्ने आज अन्तिम दिन, कस्तो छ सम्भावना ?

आइतबार, पुष २४ २०७९

काठमाडौँ – प्रदेश–१ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज (आइतबार) साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुखले दिएको समय सीमा अनुसार आज प्रदेश–१ मा नयाँ सरकार बन्नु पर्नेछ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले १७ पुसबाट आज (आइतबार) साँझ ५ बजेसम्मका लागि समय दिएका छन् ।

यसबीचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल गरे पनि केन्द्रमा भागबण्डा नटुङ्गिएका कारण दाबी पेश गर्न सकेनन् । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको छ ।

एमाले प्रदेश–१ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । त्यसको लागि सत्तारुढ दलको शीर्ष नेतृत्वमा सहमति बनिसकेको स्रोतको दाबी छ । ‘आज शीर्ष नेताबीच छलफल हुँदैछ, त्यसपछि प्रदेशमा दाबी पेस गर्छाैं,’ माओवादी केन्द्र प्रदेश–१ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने ।

९३ सदस्यीय प्रदेश–१ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले संसदीय दलका नेता कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन पेश गर्न लागेको स्रोतले जनाएको छ ।

प्रदेश–१ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ९३ जना सांसद रहेका छन् ।