काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताएका छन्।
शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारे।
उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए ।
थापाले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने समेत बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए। उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने पनि बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्दै छ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रूपमा छलफल गर्नेछौँ ।’
थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको बताए । उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरूसँग पार्टी सभापति शेरबहादुर देउवासँगको भेट शीर्ष नेताबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्ने कुरा निराधार रहेको पनि जिकिर पनि गरे ।