काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।
विशेष स्रोतका अनुसार प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठन गर्न शीर्ष नेताबीच सहमति जुटेको छ ।
प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
सात दिनको समयसीमाको अन्तिम दिन एमाले दलका नेता कार्कीले दाबी पेश गर्न लागेका हुन्। प्रदेश सभामा कुनैपनि दलको एकल बहुमत छैन ।
९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ ।
यहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।