काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसँग जोडेर सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शुक्रबार छलफल हुँदैछ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नागरिकता विवादवारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुनलागेकाे हाे ।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।
लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरि नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।
प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि लामिछानेलाई शपथ लिनका लागि बाटो खुलेको थियो । उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री नियुक्त भइसकेका छन् ।
यता लामिछानेले भने आफूमाथि भइरहेको छानबिनमा कुनै हस्तक्षेप नहुने प्रष्ट्याइसकेका छन् ।