पाल्पा । पाल्पामा बिहीबार राति यात्रु वाहक बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन् ।
घाइते मध्ये ६ जनाको एडमनसिटी हस्पिटल जितगढी बुटवल, र १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।