काठमाडौं- धनुषाको मिथिला बिहारी नगरपालिका–२ धमौरा पोखरीस्थित सडकमा ज.२ त ९५२५ नम्बरको ट्याक्टरमा प्र.२–०२–००५ प ५४३७ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–३ बस्ने ३५ वर्षीया सावित्री देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते मोटरसाइकलका चालक समेत २ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित सडकमा वी आर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय नथुनी बैठाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल नारायणपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कमल गाउँपालिका–५ लवडाडास्थित सडकमा प्र.१–०१–०१६ प २०९४ नम्बरको स्कुटर र मे.२ प २१५७ नम्बरको मोटरसाइकल बुधबार साँझ एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय नरेन्द्र सेलिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लाईफलाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्र.१–०१–०१६ प २०९४ नम्बरको स्कुटरले प्र.१–०१–०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिएको थियो । तीनवटै सवारी साधन र दुई वटै स्कुटरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेस्थित सडकमा लु.३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा ट्याक्टरका सहचालक सोही नगरपालिका–३ भालकुन बस्ने २८ वर्षीय सेते सारुको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको जितपुरसिमरा उपमहानरपालिका–२ स्थित सडकमा ना.२० प ७१६४ नम्बरको मोटरसाइकललाई ना.७ ख ४२३७ नम्बरको टेलर गाडीले बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ उर्लाबारी इटहरास्थित सडकमा प्रदेश १–०२–०४२ प ८४०४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय खड्ग बहादुर लिम्बुको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।