बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौँ महानगरपालिकाको राजश्व सङ्कलनमा वृद्धि

बिहिबार, पुष २१ २०७९

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए।

बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिनुभएको हो । बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।  
 
व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा रु पाँच सय र अधिकतम रु तीन हजार हुने निर्णय गरेको छ । जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ । दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।