बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाको विरोध गर्नेहरुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा कांग्रेस चाहिएको थियो : प्रवक्ता महत

बिहिबार, पुष २१ २०७९

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सिमित रहेको बताए ।

वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यस गठबन्धनको आयु लामो समय नटिक्ने दाबी उनको थियो ।

उनले नेपाली काँग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए ।  उनले अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन पनि आग्रह गरे । 
 प्रवक्ता महतले प्रधानमन्त्री दाहालले गठबन्धन तोडेपछि नेपाली काँग्रेस सन्तुष्ट नरहेको पनि बताए । उनले काँग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताए । उनले वर्तमान गठबन्धन सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिए ।

प्रवक्ता महतले वर्तमान गठबन्धनमा पदीय चाहना बाहेक विचार, दृष्टिकोणमा एकता नरहेको आरोप लगाउँदै अहिलेको सरकार काम गर्ने भन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप लगाए । उनले जनमतको आधारमा नेतृत्व नहुने परिवेश सिर्जना भएको भन्दै आगामी दिनमा यसको गम्भीर छलफल हुनुपर्ने बताएका थिए ।

उनले  नेपाली काँग्रेस पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षको रुपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताए ।

आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि बताए ।

पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै काँग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि काँग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने उनको भनाइ थियो ।