बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न माधव नेपालको निर्देशन

बुधबार, पुष २० २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

 मंगलबार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै उनले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । 

उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराए । 

उनले भने, ‘के कुरामा हामी प्रतिबद्ध हुनु पर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔँ । जे-जे लागेको छ कमिटीमा राखौँ । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरू बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि, हामी अनुशासन तोड्ने, फेरि हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाइँ बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैँ ठूलो हुने तरिका बन्द गरौँ ।’

उनले सबै कुरा पार्टीमा छलफल गर्ने नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।

उनको यो अभिव्यक्तिसँगै पार्टी भित्र अराजकता मौलाएको प्रष्ट हुन्छ । यसैगरी आफूलाई लागेका कुरा बोल्नै नपाउने उनको यो उर्दीले उनको आलोचनासमेत हुन थालेको छ ।