दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक सोमबार बस्दैछ ।
प्रदेश सभाको पहिलो अधिवेशन दिउँसो १ बजे सुरु हुँदैछ। लुम्बिनी प्रदेशसभाको बैठक पहिलो पटक स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा बस्दैछ ।
लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ । एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा (राजमो) १, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन् ।
गुल्मी निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका जेष्ठ सदस्य ६९ वर्षीय डिल्लीराज भुसालले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्न भुसाललाई जेष्ठ सदस्यको प्रमाणपत्र प्रदान गरेका थिए ।
लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी गरेपछि उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो ।