बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देशभर बढ्यो चिसो, आगामी तीन दिन चिसो अझै बढ्ने

सोमबार, पुष १८ २०७९

काठमाडौं । केही दिनदेखि नेपालमा चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासँगै देशभर तापक्रम घटेसँगै चिसो बढेको हो । चिसो बढेसँगै देशभरको जनजीवनसमेत प्रभावित हुन थालेको छ ।

तराईं र पहाडका केही ठाउँमा हुस्सु र हिमालमा हिमपात हुन थालेपछि जनजीवन प्रभावित भएको हो । तराईंमा बिहानै हुस्सु लाग्ने र दिउँसोसमेत बाँक्लो कुहिरो लाग्न थालेको छ । हुस्सु र कुहिरोले घाम देखिन छोडेपछि चिसो थप बढेको हो । हुस्सु र कुहिरोसँगै चल्ने चिसो हावाले तराईंमा घरबाहिर निस्किनसमेत समस्या हुन थालेको छ । चिसो बढेसँगै मानिसहरूको चहलपहलसमेत घट्न थालेको छ । 

चिसोले देशभर वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढ्न थालेका छन् ।

आगामी तीन दिनसम्म अझै चिसो बढ्ने भएको छ । पश्चिमी वायुको प्रभावका कारण अझै तीन दिनसम्म चिसो अझै बढ्ने मौसमविद्हरूले बताएका छन् । 

पश्चिमी वायुका कारण चिसो बढिरहेको जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए । उनका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश भागमा शीतलहरको सम्भावना रहेको छ । पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको छ ।

जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए। हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने उनले बताए । ‘पश्चिमी वायुका कारण चिसो बढेको छ ।

आगामी तीन दिनसम्म देशको अधिकांश भागमा लगभग शीतलहरकै अवस्था रहन्छ,’ उनले भने, ‘चिसो अझै बढ्नेछ । पश्चिमी वायुको प्रभाव परेका कारण पनि तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात अवस्था बढेको छ ।’