शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकीकृत समाजवादीको बैठक आज पनि बस्दै : सरकारमा जाने/नजानेबारे आज निर्णय

आइतबार, पुष १७ २०७९

काठमाडौं ।  एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे आज निर्णय गर्ने भएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो ।

शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको छ ।

बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ । नेताहरुले एमालेसँग मिलेर नगए यस अगाडि पाएका धेरै पदपनि गुमाउनुपर्ने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन्।

एकीकृत समाजवादीभित्र सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा दुई धार छ । त्यसमा पनि सहभागी हुनुपर्छ भन्ने धार ठूलो छ । उनीहरू सरकारबाट मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने पक्षमा छन् । तर, सानो भए पनि एउटा जमात भने एमाले सम्मिलित वर्तमान सत्ता गठबन्धनमा सहभागी भए विद्रोहको औचित्य समाप्त हुने अडानमा छन् ।

एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन। कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन्।

यसैबीच, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले शनिबार दिएको अभिव्यक्तिबाट माधव नेपाललाई हालसम्म राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको देखिएको छ । जुन बाहिर भने अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला चलेको थियो । यता एमालेका नेताहरुले उक्त भनाइको विरोध गर्दै आएका छन् । उनीहरुले कुनै हालतमा पनि पार्टी फुटाएर अरुको सोझो गर्ने व्यक्तिलाई एमालेले राष्ट्रपति दिन नसक्ने बताउँदै आएका छन् ।

यसैबीच, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विषेश जोड गरिरहेका छन् । सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रचण्डको जोडमा सहमत भएको चर्चा छ। तर, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने उचित बहाना कसैले पनि भेटेका छैनन् ।

एकीकृत समाजवादी सरकारमा सहभागी हुनका लागि पहिलो कदमका रुपमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादको वातावरण बन्नुपर्ने हुन्छ । पछिल्लो समय दुई वर्ष लामो संवादहीनता तोडिए पनि औपचारिक संवादको वातावरण बनेको छैन । त्यसैले, ओली–नेपालबीच संवादको वातावरण बनाउने प्रयास जारी छ ।

एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी रहेका छन् ।