पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
खुशियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ ।
पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्बमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।
विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०ः०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म -याली आयोजना गरिएको छ । -यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
उद्घाटनपश्चात दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ः०० बजेदेखि ५ः५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ः०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए । साँझ घरघरमा दीपावली समेत गर्न महानगरले अपिल गरेको छ ।
विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।