काठमाडौं । सत्तारूढ नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको बैठक आज बस्दैछ ।
शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन ।
राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ । यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ ।
चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ । पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ ।
यसैबीच बुधबार दुई नेताबीचको वार्ताले अब चाँडै नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल हुने संभावना बढेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरिसकेको छ ।
गत आइतबार प्रचण्ड एमालेलगायत दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । सोमबार शपथ लिएका उनले सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए ।
मन्त्रिपरिषद्को पूर्णता र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न अहिले बैठक बस्न लागेको हो ।