काठमाडौँ – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु लागेको छ ।
आज (बिहीबार) दिउँसो प्रदेश–१ र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ । प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमाली भू–भागमा हिमपात र तराईका केही भू–भागमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।