शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

समीकरण फेरबदल : विलखबन्दमा देउवा र माधव नेपाल

बुधबार, पुष १३ २०७९

काठमाडौं । गएको आइतबार सत्ता गठबन्धनमा आएको फेरबदलले सत्ता नै उलटपुलट भयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुखैमा आएको छैटौं पटकको प्रधानमन्त्री पद जोगाउन नसक्दाको पीडा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथग्रहणको बेलामा देउवाको अनुहारले झल्काउँथ्यो । मुटुमाथि ढुंगा राखि देउवा प्रधानमन्त्री र उपप्रधानमन्त्रीले सपथ लिउञ्जेलमात्र समारोहमा बस्ने भ्याए । अन्य मन्त्रीले सपथ लिँदा उनी बाहिरिसकेका थिए ।

आगामी १० देखि १५ बर्षसम्म गठबन्धन गरेर अघि बढ्ने कसम खाएका पाँच दलीय गठबन्धन भित्र यति चाँडै यो प्रकारको विचलन आउला उनीहरुले सोचेका समेत थिएनन् ।  माओवादी अध्यक्ष प्रचण्ड यसरी एकाएक युटर्न भइहाल्लान् देउवाले त एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत सोचेका थिएनन् । अझ नेपालले त प्रचण्डकै आशभरोसामा एमालेनै टुक्राएका थिए । सानातिना दु:खले एकीकृत समाजवादी नबनेको भनेर त्यही बेला प्रचण्डले भनिसकेबाट त्यो प्रष्ट हुन्छ ।  पार्टी एकीकरणसम्मका कुरा भइरहेका बेला एकाएक प्रचण्ड आफूलाई थाहै नदिई एमाले र उसका अध्यक्ष केपी शर्मा ओलीको साथ र समर्थनमा प्रधानमन्त्री बनेको भन्दै माधव नेपालले गुनासो गरेका छन् ।

यतिमात्र होइन तत्कालीन नेकपामा केपी शर्मा ओलीविरुद्ध एकठाउँमा उभिएका प्रचण्ड र माधवकुमार नेपालको दोस्ती विगत दुई बर्ष अत्यन्त सुमधुर रह्यो । तर पछिल्लो आइतबार सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रचण्ड प्रधानमन्त्री बने भने नेपाल विलखबन्दमा छन् ।

उनीहरुबीच गत आइतबार यता भेटघाट त परैको कुरा टेलिफोनमा समेत संवाद हुनसकेको छैन । सोमबार अपरान्ह शीतलनिवासमा भएको प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर पनि नेता माधव नेपालले प्रचण्डलाई भेटेनन् ।

उनले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिक परिवर्तन आएको बताएपनि उनले प्रचण्डका पछिल्ला क्रियाकलापले आफ्नो चित्त भने दुखेको गुनासो गरेका छन् ।

उनले आफ्नो पार्टीलाई थाहै नदिइ गठबन्धनमा रहेका प्रचण्ड अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री भएको पत्रपत्रिकाबाट थाहा पाउँदा आफू अचम्मित भएको बताए ।

नेपालले गठबन्धन रहँदा कांग्रेस र माओवादी दुवै पक्षबाट आफूहरु पीडित बनेको समेत बताउन थालेका छन् । नेपालले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताएका थिए । उनले, ‘हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो, माओवादीले पनि हेप्यो ।’ भन्न थालेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग पनि छलफल थालेको भन्ने समाचार बाहिरिएका छन् जसले माधव नेपाललाई राहत हुनसक्ने अनुमान गरिएको छ ।