बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरु गरेको थियो।
डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।
प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले डिएसपी केसी अनुसन्धान टोलीको नियन्त्रणमा परेको र यसबारे थप बुझेर जानकारी दिने बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने।
केसी तिनै डिएसपी हुन्, जसले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्तीले हानेर पोखरीमा फ्याँकिदिएका थिए ।