काठमाडौं । गठबन्धनमा ‘पावर शेयरिङ’ लगायतका विषय टुंग्याउन एमाले नेतृत्वको सात दलको बैठक बस्ने भएको छ ।
दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउन गठबन्धनका शीर्ष नेता जुट्न लागेका हुन् ।
एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।
आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी-एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।
अहिले पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको एक नेताले बताए ।
यसैगरी डिल्लीबजार कारागारमा नागरिक उन्मुक्ति पार्टीको छलफल जारी छ । पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेतालाई कारागारमै डाकेका हुन् ।