शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल

आइतबार, पुष १० २०७९

काठमाडौं   । नयाँ सरकार निर्माणका लागि सहमति खोज्न सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र माओवादीका दुई शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।   

बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि दलहरु आन्तरिक छलफलमा लागेपछि बैठक बस्न सकेको छैन। बैठक अगाडि प्रचण्ड र देउवाबीच छलफल भएको हो। आइतबार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन्।

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्। 

दुई दलका शीर्ष नेताहरुले गठबन्धन बैठकअघि बालुवाटार र खुमलटारमा आन्तरिक छलफल समेत गरेका थिए । गठबन्धनको बैठकमा प्रस्तुत हुने विषयमा रणनीति बनाउन दुई दलका शीर्ष नेतृत्व आन्तरिक छलफल गरिरहेको बताइएको छ ।

गठबन्धनबाट आलोपालोमा को पहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी छन्।