काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् ।
राष्ट्रपतिले दिएको समयसीमा आज सकिदैछ । तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका विषयमा टुंगो लागेको छैन । भावि प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।
शनिबार दिनभरका भेटघाट र बैठकमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेपछि सहमति बनेन ।
आइतबार बिहान १० बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दाबी पेश नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ । यता सत्ता नेतृत्व गरेको नेपाली कांग्रेस सके यहि गठबन्धनबाट प्रधानमन्त्री बन्ने नभए संविधानको धारा ७६ (३) अनुसार अघि बढ्ने गरी अघि बढेको देखिन्छ । यसै अनुसार उसले आफ्ना सांसदहरुको हस्ताक्षरसमेत संकलन गरी सकेको छ ।
पहिलो चरणमा प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुवैले अडान कायमै राखिरहेका छन् । जसका कारण लगातार दुई दिनको छलफलले कुनै निकास दिन सकेन । अस्ति प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिचको छलफलले ठोस निर्णय गर्न नसकेपछि हिजो बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको थियो । उक्त बैठकले पनि कुनै निर्णय गर्न सकेन ।
आज पुन बिहान १० बजे गठबन्धनको निर्णायक बैठक बोलाइएको छ । बिहान १० बजेकाे बैठकमा पनि सहमति हुन नसके गठबन्धन नरहनसक्ने नेताहरूले सङ्केत दिएका छन् ।
यता कांग्रेसले माओवादी बिनाको सरकार निर्माणको पहल थालिरहँदा उता माओवादीका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रधानमन्त्री देउवालाई जानकारी गराइसकेका छन् ।