काठमाडौं । शक्ति बाँडफाँडमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठकआज पनि बस्दैछ ।
बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरुको बैठकले शुक्रबार पनि बैठक बसेर प्रमुख पदहरुको भागबण्डा मिलाउने सहमति भएको थियो ।
आज बस्ने बैठकको समय भने तय भइनसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँदैछ । सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन् । यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गर्दै आएको छ ।
बिहीबारको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र औपचारिक प्रस्ताव राखेका थिए। देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएपनि प्रचण्डले आलोपालो सहमतिको अनुसार अडान नछाड्ने पक्षमा छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको उक्त छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ ।
गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ ।