बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धनमा भागबण्डा सकस, पुनः वाम गठबन्धनकाे चर्चा

शुक्रबार, पुष ८ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिइएको समयसीमा घर्किन लाग्दासमेत कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रष्ट खाका आउन सकेको छैन ।

सत्ता गठबन्धनका दलहरुबीच शक्ति बाँडफाँडमा कुरा नमिलेका कारण भावी सरकारको नेतृत्व कसले गर्ने ? राष्ट्रपति को हुने लगायतका यावत विषय थाती छन् ।  

राष्ट्रपति भण्डारीले पुस १० गतेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेकी छन् राष्ट्रपति भण्डारीले आइतबार सरकार बनाउन दलहरूलाई एकसाताको समय दिएकी हुन् । सत्ता गठबन्धन बहुमतनजिक भए पनि आन्तरिक भागबण्डा मिलाउन नसक्दा दाबी पेश गर्न सकेको छैन । गठबन्धनमा प्रमुख पदहरू क–कसले लिने भन्ने विवाद छ । त्यति मात्रै होइन सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने पनि विवाद छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको दाबी गरिरहेका छन् । कांग्रेसले सरकारको मात्रै होइन राष्ट्रपतिमा समेत दाबी गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसलाई दिन नसकिने माओवादी र नेकपा एकीकृत समाजवादीको अडान छ । राष्ट्रपतिमा नेकपा एसले पनि दाबी गरिरहेको छ ।

आगामी सरकारमा कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपतिमा दावी गरिरहेको छ भने माओवादीले पनि पहिलो सरकारको नेतृत्वमा दावी गरिरहेको छ ।

सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँडसमेत शीर्ष नेताको छलफलका एजेन्डा रहेका छन् ।

सत्ता गठबन्धनमा भागबण्डाबारे सहमति हुन नसक्दा समीकरण नै फेरबदल हुन सक्ने चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । हुन पनि माओवादी केन्द्रले सत्ता समीकरणका लागि सबै ढोका खुला राखेको छ । यसको अर्थ हो कांग्रेससँग कुरा नमिले सरकार गठनका लागि अर्को गठबन्धन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि पहिले प्रधानमन्त्री हुने दाउमा छन् । त्यसमा कांग्रेसले साथ नदिए अर्कोतिर जान सकिने ढोका खुला राखेको हो । संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको चाहना पनि यही हो । कांग्रेसभन्दा केही सिट मात्रै कम रहेकाले एमाले सत्ता गठबन्धन फुटाएर नयाँ समीकरण बनाउन चाहन्छ । गठबन्धन फुटे कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सकिने एमालेको रणनीति देखिन्छ ।

यसरी नै पुनः ‘वामहरू’ एक हुनुपर्ने आवाज पनि उठिरहेको छ । २०७४ सालको निर्वाचनमा वामपन्थीहरू एक ठाउँमा उभिँदा झण्डै दुईतिहाइ जनमत पाएका थिए । त्यसलाई जोगाउन नसक्दा अहिले वामपन्थीहरू मिल्दा पनि सरकार बनाउन सक्ने अवस्था छैन । तर, दोस्रो र तेस्रो ठूलो शक्तिका रूपमा रहेको दुई दल एमाले र माओवादी मिल्दा केही अरू दलको साथ लिएर सरकार बनाउने अंकगणित भने पुग्ने देखिन्छ । एमाल-माओवादीसहित त्यसका लागि पुनः माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली एक ठाउँमा आउनुपर्ने हुन्छ । जुन दुवै दलका केही दोस्रो तहका नेताहरूले पनि बताउँदै आएका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथपछि ओली–प्रचण्डबीच केहीबेर कुराकानी भएको थियो । शपथपछि संसद् भवन परिसरमा आयोजित चियपान कार्यक्रममा दुई नेताबीच केहीबेर कानेखुसी भएको थियो ।

ओली–प्रचण्डबीच छोटो समयमा सत्ता समीकरणबारे समेत कुराकानी भएको खुलेको छ । प्रचण्डनिकट एक नेताका अनुसार सरकार गठनबारे प्रचण्डलाई साथ दिनसक्ने संकेत ओलीले गरेका  थिए । जवाफमा प्रचण्डले त्यसका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको उनको दाबी छ ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीबारे रस्साकस्सी चलिरहेका बेला प्रचण्डलाई सघाउन सकिने ओलीको ‘सिग्नल’ले पुनः वाम गठबन्धन बन्न सक्ने संकेत गरेको उनको भनाइ छ । सत्ता गठबन्धनमा कांग्रेसले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए एमालेसँग सहकार्य हुनसक्ने उनले बताए।

एमालेमा कांग्रेससँग मिलेर सरकार बनाउनपर्ने मत पनि छ । तर बिहीबारको बैठकमा ओलीले भने गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने संकेत गरेको एक नेताले बताए ।