आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कांग्रेस संसदीय दलको नेता छान्ने मतदान सकियो, केहीबेरमा मतगणना हुने

बुधबार, पुष ६ २०७९

काठमाडौं । निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरि सुरु भएको नेपाली कांग्रेस संसदीय दलको नेता छान्ने मतदान सकिएको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी सुरु भएको थियो ।

अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी  सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए। 

राई सुत्केरी भएकाले ओम अस्पतालमा छिन्। उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर गएका थिए ।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन् ।