काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घन्टा ढिलो मतदान सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी सुरु भएको हो ।
अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति जुटेको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताए ।
संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । देउवा र थापा दुवैले मतदान गरिसकेका छन् ।
निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन् ।
कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।