काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि मतदान केही समय ढिलो सुरु भएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ ।
आज सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । मतदान गर्न सांसदहरु बिहानै सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगिसकेका छन् । प्रहरीले उनीहरु निर्वाचित भएको प्रमाणपत्र हेरेर मात्र प्रवेश गर्न दिएका छन् ।
कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ । मुलुकको आगामी दिशा मार्गनिर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ ।
प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच हुने चुनावी प्रतिस्पर्धालाई दलभित्र आन्तरिक जीवन र बाह्य राजनीतिक दृष्टिकोणबाट बेग्ला–बेग्लै ढङ्गले जोडघटाउ र विश्लेषण गरिएको छ ।
निर्वाचनको अन्तिम नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीका लागि यही पुस १० गतेभित्र दाबी पेस गर्न सात दिनको समयसीमा प्रदान गरी यसअघि नै आह्वान गरिसकेकी छन् । राष्ट्रपतिको उक्त आह्वानपछि राजनीतिक दलले आ–आफ्नो दलभित्र संसदीय दलको नेता चयन गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।
निर्वाचनको पछिल्लो नतिजाले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई मिलेर सरकार चलाउन सन्देश प्रदान गरेकाले पनि स्वभाविकरूपमा ठूलो राजनीतिक पार्टीका हैसियतले कांग्रेसले अरु राजनीतिक दलसँग संवाद सुरु गरेको छ ।