काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
मंगलवार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए । तत्कालिन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने उनले बताए ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनको नाममा हामीले जुन प्रकारको एकताको प्रक्रिया अघि बढाएका थियौँ । त्यसलाई कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रका रुपमा प्रयोग गर्ने जनमतलाई खण्डित गरीकन जनताले अस्वीकार गरेको शक्तिलाई सरकारको नेतृत्व सुम्पने खालको षड्यन्त्रपूर्ण तरिकाले अघि बढेका बेलामा हाम्रो पार्टीले जनतामा जाने फैसला गरेको थियो । यदी पुस ५ गते हाम्रो पार्टीको नेतृत्वमा जनतामा जाने फैसलालाई कार्यान्वयन भएको भए आज मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो । आज जुन प्रकारको राजनीतिक अस्थिरताका प्रवृत्तिहरु देखापरेका छन्, त्यसबाट हामीले मुलुकलाई सही बाटो प्रदान गर्न सक्थ्यौँ । तर मुलुकलाई नीतिबिहीन, विचारबिहीन, लक्ष्य, उद्देश्यबिहीन राजनीतितर्फ अघि बढाउने प्रयास भयो । जसका कारण आज मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका आशंकाका काला बादलहरु मडारिने खालको स्थिति उत्पन्न भएको छ ।
उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए ।
महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको बताए ।
महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरेपनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए ।
कार्यक्रममा एमालेले क्लिनस्वीप गरेका तीन जिल्लाका अध्यक्षलाई सम्मान पनि गरिएको थियो । यसैगरी सर्वाधिक मतका साथ विजयी बनेका ओलीलाई समेत सम्मान गरिएको थियो ।
ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका थिए ।