बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उद्योग परिसंघको राष्ट्र बैंकलाई आग्रह

बिहिबार, बैशाख ७ २०७४

काठमाडौं, ७ वैशाख ।

वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई समाधान गर्न नेपाल उद्योग परिसंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । परिसंघको एक टोलीले राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीलाई भेटी बढ्दो ब्याजदरले औद्योगिक क्षेत्रमा असर पुगेको जानकारी गराएको हो ।

 परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको टोलीले कर्जाको बढ्दो ब्याजदरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घटेर औद्योगिक उत्पादनमा संकुचन आउने, कुलगार्हस्थ उत्पादनमा ह्रास आउने अवस्था सिर्जना भएको बताएको थियो । बढ्दो ब्याजदरकै कारण रोजगारीका अवसरहरूमा गिरावट आउने हुनाले त्यसको सम्बोधन हुनुपर्ने परिसंघको भनाइ थियो ।

सो अवसरमा परिसंघले वित्तीय प्रणालीको कर्जा अभाव सम्बोधन गर्न अवलम्बन गर्नुपर्ने अल्पकालिन र मध्यकालिन सुझावहरू नेपाल राष्ट्र बंैकसमक्ष पेस गरेको थियो । समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याजदरको असन्तुलन हल गर्न एवं निक्षेपकर्तालाई ब्याज उपलब्ध गराई दिगो आर्थिक विकासका लागि सुलभ दरमा कर्जा प्रवाहको वातावरण सिर्जना गर्न परिसंघले माग गरेको हो ।