काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। लामो रस्साकस्सी र विवादका बीच आइतबार बिहान १ः१५ बजे मात्र कांग्रेस सहमहामन्त्री जीवन परियार र मुख्यसचिव कृष्णप्रसाद पौडेलले आयोग पुगेर नाम बुझाएका हुन् ।
समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीको नाम पनि समावेश भएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को-को पठाउने भन्ने विवाद थियो ।
आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ बाहिरिँदा खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार समानुपातिक सांसद बनेका छन् ।
यता श्रेष्ठ र फर्मुल्लाह मन्सुरलाई राष्ट्रिय सभामा लैजाने गरी परियार, निधि र महतको नाम टुंगो लगाइएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट एक जना महिलामात्र निर्वाचित भएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्यमात्र रहेकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट कांग्रेसले खसआर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ ।
आरजु राणा प्रधानमन्त्री देउवा पत्नी हुन् भने मञ्जु खाँण बहालवाला गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् ।
निर्वाचन अघि विवाद भएपछि यसअघिको सूचीबाट आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा रहेको नाम पछि समेत सारिएको थियो ।
यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेसी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकुमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ ।
दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन भएका छन् भने थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ ।