काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् ।
‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनि आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे ।
रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँदा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।
यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सिमित बने । जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो ।
खेलपछि बोल्दै सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फर्किएपछि थाहा हुने बताए ।
मोरक्कोसँगको यो हारसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रुँदै सिधै मैदानबाट बाहिरिएका थिए । यो हारसँगै विश्वकप उचाल्ने उनको सपना पनि चकनाचुर भएको छ ।
भेट्रान स्ट्राइकरका रुपमा परिचय बनाएका रोनाल्डोले सन् २००३ मा कजाकिस्तानविरुद्ध पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए । त्यतिबेला उनी १९ वर्षका मात्र थिए ।
१९६ खेलमा रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गरिसकेका छन् । जारी विश्वकपमा उनले घानाविरुद्ध गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् । उनले सन् २०२१ मा अली देइको कीर्तिमान भङ्ग गरेका थिए ।
अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश पाएका उनले अर्को एक कीर्तिमानी बनाएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।
रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो । योसँगै उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन् ।