बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समानुपातिकमा एमालेले कटायाे १० लाख मत, कुन दललाई कति ?

शुक्रबार, मंसिर ९ २०७९

काठमाडौँ – मंसिर ४ गते (आइतबार) सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान १० बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म १० लाख ५ हजार ७२० मत पाएको छ । नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ७८ हजार ६३१ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४ लाख ४२ हजार १३२ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५५ हजार ७५१ मत पाएको छ ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख २८ हजार ०३५ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ७५ हजार ९२३, नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९६८, नेकपा (एकीकृत समाजवादी)ले ७१ हजार २ सय ७८ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार ९ सय ३० मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार दुई सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार चार सय २३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार आठ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार एक सय ८६ मत पाएको छ ।

नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।