काठमाडौँ – निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका सूर्य थापालाई पुनः स्पष्टीकरण सोधेको छ।
मीनबहादुर बुढा (भेलुबाजे)लाई दुई हजार रुपैयाँ दिएर चुनाव प्रचार गरेको समाचार सार्वजनिक भएको भन्दै सोही विषयमा आयोगले थापालाई स्पष्टीकरण सोधेको हो।
आयोगले थापालाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ दिन भनेको छ।
‘मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद वितरण गर्नु भएको हो, होइन? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ,’ आयोगले थापालाई सोधेको स्पष्टीकरणमा भनिएको छ।