बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

 भगवती चौधरीको अभिव्यक्तिका सन्दर्भमा आयोगले माग्यो स्पष्टीकरण 

सोमबार, कार्तिक ७ २०७९

काठमाडौं । निर्वाचन आयोगले एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

इटहरी उपमहानगरपालिका १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा ९१० को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ ।

निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सन्दर्भमा तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनुभएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।