काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्साउन खोज्ने धेरै आए पनि तर्सिने बानी नरहेको टिप्पणी गरेका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको चर्चा भइरहेका बेला सभापति थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
यसअघि कांग्रेस सभापति थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई बिचौलियासँग जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको थियो। सचिवालयले विवादित विषयलाई विषयान्तर गर्न सभापति थापामाथि आरोप लगाइएको दाबी गर्दै त्यस्ता षड्यन्त्रको प्रतिवाद गर्ने चेतावनीसमेत दिएको थियो।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जालमार्फत चेतावनीयुक्त अभिव्यक्ति दिएका थिए। उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि सभापति थापाले दिएको पछिल्लो प्रतिक्रियालाई प्रधानमन्त्रीप्रति लक्षित भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि थापाले आफ्नो स्टाटसमा कसैको नाम उल्लेख गरेका छैनन्।